खुला विश्वविद्यालयले परीक्षा लिन नसकेपछि आलोचना बढ्यो
-
साउन २६,२०७७ काठमाडौं ।
अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि आलोचना बढेको छ ।
त्यति मात्र होइन विश्वविद्यालयले अस्ति शनिबार सञ्चालन गरेको अनलाइन प्रवेश परीक्षासमेत स्थगित भएको छ । सर्भर डाउन भएका कारण परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले प्रवेश परीक्षा सञ्चालन गर्न नसक्ने विश्वविद्यालयले कसरी अनलाइनबाट परीक्षा सञ्चालन गर्छ भन्ने प्रश्न गर्न थालेका छन् ।
प्रवेश परीक्षा लिन नसकेपछि डीन प्राडा शिलु मानन्धर वज्राचार्यले सोही दिन सूचना प्रकाशित गरी एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा स्थगित भएको जनाउनुभएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा लेखनाथ शर्मा (पीएचडी) ले सर्वरमा समस्या आएकाले प्रवेश परीक्षा गर्न नसकिएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो-‘हामी अहिले पनि प्रयास गरिरहेका छौं, केही दिनपछि परीक्षा सञ्चालन गर्नेछौं ।’ अनलाइनबाट पढाइ भइरहे पनि फेस टु फेस माध्यमबाट परीक्षा लिने गरेका कारण प्रविधि प्रयोगमा कमजोरी देखिएको उहाँको भनाइ थियो ।
विश्वविद्यालयका रजिस्ट्रार कमल ढकालले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको बताउनुभयो । प्रवेश परीक्षा लिन नसकेको विषयमा जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘सर्वरमा समस्या आएकाले समयमै परीक्षा सञ्चालन गर्न नसकेको हो ।’ आजको नेपाल समाचारपत्रमा खबर छ ।