Trending :
 

कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश र स्थानीय तह आत्तिदै

श्रावण २७,२०७७

-

साउन २७, २०७७ काठमाडौं ।
दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् ।
 
संक्रमितहरूको उपचारका लागि अस्पतालका शय्या, उपकरण र चिकित्सकको अभाव देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत स्थिति नियन्त्रणमा लिन संघ (केन्द्र) सरकारको सक्रिय सहयोगको आवश्यकता रहेको बताउँछन् । ‘चिकित्सककै अभाव हुन थाल्यो, रातारात कहाँबाट चिकित्सक ल्याउने ?’ उनले भने, ‘केन्द्रले नेपाली सेना र प्रहरीका चिकित्सकहरूलाई फिल्डमा पठाउन जरुरी छ ।’
 
प्रदेश २ को एक्लो वीरगन्ज महानगरपालिकामा मात्रै संक्रमितहरूको संख्या एक हजार नाघिसकेको छ । १९ जनाको मृत्यु भइसकेको छ । अस्पतालहरूले बिरामी लिन नमानेका घटना सार्वजनिक भइरहेका छन् । प्रदेशभरिमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमितहरूको संख्या बढेको र उनीहरूलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएपछि चुनौती थपिँदै गएको छ ।
 
प्रदेशका अस्पतालको अवस्था नाजुक छ । सरकारी अस्पतालको क्षमताले मात्रै संक्रमितहरूको उपचार सम्भव छैन । प्रदेशभरिका सरकारी अस्पतालमा ७र८ को संख्यामा मात्रै भेन्टिलेटर छन् । यतिबेला निजी अस्पताल तथा मेडिकल कलेजलाई परिचालन गर्नुपर्ने आवश्यकता छ । अधिकारको सीमितताले प्रदेश सरकार त्यसमा लाचार बनिरहेको छ ।
 
 
दक्ष स्वास्थ्य जनशक्ति र थप कोभिड अस्पताल चाहिएकाले केन्द्र सरकारसँग सहयोग माग गरिएको मुख्यमन्त्री राउतले बताए । त्यसैका लागि काठमाडौं आएका राउतले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेर प्रदेश २ मा स्वास्थ्यको ‘स्पेसल प्याकेज’ पठाउन आग्रह गरेका हुन् ।
 
संकटका बेला निजी अस्पतालहरू सेवा बन्द गरेर बसेका छन् । सुरक्षा निकायलाई आदेश दिएर ती अस्पताललाई नियन्त्रणमा लिई त्यहाँको जनशक्ति र पूर्वाधारलाई प्रयोग गर्नुपर्ने, सेना प्रहरीका चिकित्सक पठाउनुपर्ने, स्वास्थ्य सामग्री तथा उपकरणको उपलब्धता गराउनुपर्ने राउतको माग छ । कान्तिपुरमा खबर छ ।