Trending :
 

लिदीमा पहिरो निरन्तरः बाँकी रहेका घरहरू पनि लेदोले भत्काउँदै

श्रावण ३२,२०७७

-

साउन ३२, २०७७ काठमाडौं ।
 
सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ लिदीको भिरालो बस्तीमा पहिरोको त्रास अझै टरेको छैन । माथिको डाँडाबाट ढुंगामाटोको लेदो निरन्तर पनि खसिरहेको छ । शुक्रबारको पहिरोले नछोएर बाँकी रहेका घरहरू पनि लेदोले भत्काउँदै लगेको छ । उद्धारका लागि आएका सुरक्षाकर्मीसमेत ओइरिरहेको पहिरो हेर्दै ज्यान हत्केलामा राखेर कुटो, कोदालो, साबेलले बेपत्ताको खोजीमा जुटेका छन् ।
 
लिदी लामागाउँको पहिरोमा घरसँगै पुरिएर बेपत्ता ३९ मध्ये शनिबार अबेरसम्म १८ जनाको शव फेला परेको छ । २१ जना अझै बेपत्ता छन् । साविक गोल्चे गाविसको लिदीको पहिरोले पुरेको अवस्थामा फेला परेका सबै शवको सनाखत भइसकेको प्रहरीले जनाएको छ । 
 
प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मृत्यु भएकामा १० बालबालिकासहित चार महिला र बाँकी पुरुषको शव फेला परेको हो । पहिरोले क्रमशः पुर्दै लगेको हेर्दै आफन्तको सम्झनामा भक्कानिएका लिदीका ३२ वर्षीय निमाछिरिङ दोङ टेन्टमुनि सम्हालिन सकेका छैनन् । ‘जब पहिरो र घर देख्छु आमा, श्रीमती र छोराको झलझली याद आउँछ । मन गाँठो परेर सम्हालिनै सक्दिनँ । फर्केर आउँदैनन् भनेर पनि चित्त बुझ्दैन,’ उनले भने ।
 
लिदीको क्षतिग्रस्त बस्तीभन्दा दुई सय मिटर पर रहेको लप्सेडाँडामा जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रसले दिएको टेन्टमा रात बिताएको उनले बताए । बस्ती जोखिममा परेपछि माथ्लो लप्सेडाँडा गाउँ गएर बस्दै आएको उनको परिवार साता दिनअघि मात्रै लिदीको पहिरोमुनिकै पुरानो घरमा फर्किएको थियो । कान्तिपुर