कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै पाएनन् जोखिम भत्ता
-
भदौं १०,२०७७ काठमाडौं ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् ।
कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले ०७६ चैत ११ गतेदेखिको भत्ता दिने निर्णय गरेको थियो ।
तर करिब ४ महिना लामो लकडाउन र पछिल्लोपटक देशका विभिन्न भागमा जारी निषेधाज्ञा कार्यान्वयन, संक्रमितको उपचार तथा परीक्षणमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कसैको पनि भत्ताबापतको रकम निकासा गरिएको छैन । अग्रभागमा खटिनेले घोषित जोखिम भत्तासमेत नपाउँदा उनीहरूको मनोबल गिर्न थालेको सरकारी अधिकारीहरू बताउँछन् ।
हालसम्म ६ लाख २१ हजार ९ सय १ स्वाबको पीसीआर परीक्षण गरेर ३१ हजार ९ सय ३५ जनाको प्रत्यक्ष र अप्रत्यक्ष उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, संक्रमण रोकथाम, नियन्त्रण र पहिचानमा खटिने सुरक्षाकर्मीले भत्ता पाएका छैनन् ।
स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अग्रभागमा खटिने मातहत कर्मचारीको विवरणसहित भत्ता उपलब्ध गराउन अर्थमा पटकपटक पत्र पठाइसकेका छन् तर अर्थले रकम निकासा गरेको छैन । सरकारले ‘कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापनसम्बन्धी आदेश’ जारी गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।