Trending :
 

नेपालले बंगलादेशसँग ५० हजार टन मल पैंचो ल्याउने

भाद्र १६,२०७७

-

भदौं १६,२०७७ काठमाडौं ।
खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । 
 
हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी समझदारीनजिक पुगेका छन् । ‘सम्भवतः आगामी सातासम्ममा सम्झौता हुन्छ,’ कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतले भन्यो ।
 
पैंचो मलका लागि बंगलादेशका अधिकारीहरूसँग भएको अनौपचारिक छलफल सकारात्मक देखिएपछि कृषिमन्त्री घनश्याम भुसालले आयात प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति मागेको स्रोतले जनाएको छ ।
 
 ‘हाललाई बंगलादेशबाट लिइहाल्ने र पछि ग्लोबल टेन्डर गरी त्यति नै परिमाण मल बंगलादेशलाई नेपालले दिने गरी प्रक्रिया अघि बढाउने विषयमा मन्त्री र प्रधानमन्त्रीबीच छलफल चलेको छ,’ स्रोतले भन्यो, ‘त्यसका आधारमा अब चाँडै प्रक्रिया अघि बढ्छ । बढीमा दुई महिनाभित्र त्यो मल नेपाल आइपुग्नेछ ।’
 
मन्त्री भुसालले बंगलादेशबाट मल ल्याउन प्रक्रिया अघि बढेको स्वीकार गरे । कुन विधि र पद्धतिबाट ल्याउने भन्ने विषय भने सम्झौताको समयमा मात्रै तय हुने उनको भनाइ छ ।
 
मलको परिमाण, ल्याउने प्रक्रिया र विधि (सापटी वा सहयोग) बारे बंगलादेशका अधिकारीहरूसँग त्यहाँस्थित नेपाली राजदूत डा। वंशीधर मिश्रले कुराकानी गरिरहेका छन् । ‘एक महिनादेखि नै अनौपचारिक छलफल गरिरहेका थियौं,’ मन्त्री भुसालले भने, ‘अहिले औपचारिक तवरबाट प्रक्रिया सुरु गरिएको छ । तत्कालको अभाव टार्ने गरी मल आउने आशाको संकेत मिलेको छ । यसले हिउँदे बालीनालीलाई समेत पुर्‍याउन सकिन्छ कि भन्ने अनुमान गरेका छौं ।’ 
 
हरेक वर्ष मल अभाव भइरहेको छ । समयमै टेन्डर नहुने र टेन्डरपछिको सम्झौताअनुसार ठेकेदारले मल नल्याइदिँदा हरेक वर्ष किसानले अभाव खेप्नुपरेको छ । यस वर्ष पनि मलको पर्याप्त मौज्दात छैन । कोभिड-१९ को सन्त्रासका कारण श्रमिक अभावले मल लोड गर्न नसक्दा ढुवानी नै हुन नसकेर यसपटक अभाव खेप्नुपरेको मन्त्रालयले जनाउँदै आएको छ । आजको कान्तिपुरमा खबर छ ।