Trending :
 

निर्वाचनमा पराजितलाई सांसद ‘उपहार’

भाद्र २१,२०७७

-

भदौं २१, २०७७ काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा पराजित भएका नेताहरुलाई सांसद बनाउने निर्णय गरेसँगै पार्टीभित्र शीर्ष नेताहरुको आलोचना शुरु भएको छ । गत निर्वाचनमा पराजित भएका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेसँगै नेताहरुको आलोचना शुरु भएको हो ।
 
यसअघि निर्वाचनमा पराजित हुनुभएका सचिवालय सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य बनाइएको थियो । निर्वाचनमा जनताले मत नदिएर पराजित भएका व्यक्तिहरुलाई सांसद बनाएको यो पहिलो घटना भने होइन । पहिलो संविधान सभा निर्वाचनमा पराजित हुनुभएका तत्कालीन नेकपाका महासचिव माधवकुमार नेपाललाई पनि सांसद बनाउँदै प्रधानमन्त्रीसमेत बनाइएको थियो ।
 
निर्वाचनमा पराजित हुनेहरुलाई पार्टीको आन्तरिक शक्ति सन्तुलनको नाममा सांसद बनाउने शृंखला नेकपाभित्र चल्दै आएको छ । पार्टीभित्र महत्वपूर्ण जिम्मवारीमा रहेकाहरुलाई पनि सांसद बनाउन नेकपाभित्र परम्पराकै रुपमा विकास हुँदै आएको छ । निर्वाचन भएको सवा दुई वर्ष वितिसकेको छ ।तर पनि हारेका व्यक्तिहरु सांसद हुँदै मन्त्री बन्नसमेत लालायित देखिएका छन् । पार्टीमा लामो योगदान गरेका तर अवसर नपाएका नेताहरु धेरै भए पनि पार्टीभित्र सीमित नेताहरुको स्वार्थमा आफू अनुकूलका नेताहरुलाई सांसद र मन्त्री बनाउने क्रम चल्दै आएको छ ।
 
आम निर्वाचन २०७४ मा बर्दियाबाट पराजित भएको ३३ महिनापछि पार्टीले वामदेव गौतमलाई सांसद बनाउने निर्णय गरेको छ । गौतमले पछिल्लो समयमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि ६ बुँदे सहमतिको खाका अगाडि सार्नुभएको थियो । सोही खाकालाई आधार बनाएर नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।