Trending :
 

काठमाडौं महानगरद्धारा ‘कोभिड-१९ अप्रेसन सेन्टर’ स्थापना

भाद्र २२,२०७७

-

भदौं २२, २०७७ काठमाडौं ।
राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘कोभिड-१९ अप्रेसन सेन्टर’ स्थापना गरेको छ । करिब २० जनाको स्वास्थ्यकर्मी रहने गरी कोभिड सेन्टर स्थापना गरिएको हो ।
 
कामपाले हिजो आइतबार राष्ट्रिय सभागृहमा अप्रेसन सेन्टर स्थापना गरेको कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले सबै वडाका संक्रमितसँग समन्वय गर्ने कन्ट््याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्नेछन् । कामपाले हिजैबाट १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ ।
 
सो टोलीले ३२ वटै वडासँग संयोजन गर्ने, होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको काम गर्नेछ ।
 
संघीय राजधानी रहेको कामपामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ठोसरुपमा काम गर्न नसकेको आरोप लागेको अवस्थामा महानगरले अप्रेसन सेन्टर स्थापना गरेको हो ।
 
कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं सचिव एकनारायण अर्यालले कोरोना संक्रमणलाई रोकथाम गर्न र राजधानीमा संक्रमितको संख्या पत्ता लगाएर पीसीआर परीक्षण गर्ने अधिकारसहित सेन्टर स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘आज सोमबारबाट टोलीले सबै काम गर्नेछ । महानगरबासीलाई समस्या परेमा वडाको संयोजनमा टोलीमार्फत सबै काम हुनेछ ।’ आजको नेपाल समाचारपत्रमा खबर छ ।