Trending :
 

भाइरस चानचुने होइन रहेछ,‘कोरोनालाई हल्का नलिऔं’

भाद्र २३,२०७७

-

भदौं २३,२०७७ काठमाडौं ।
‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।
 
 
‘अफवाह फैलाइएजस्तो कोरोना कमजोर भाइरस होइन, यसले ज्यानै पनि लिन सक्छ,’ उपचारमा खटिने क्रममा संक्रमित भएका भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संकेत रिसालले भने, ‘भाइरसको आक्रमण मैले झेलें । यो चानचुने होइन रहेछ ।’ कोरोना संक्रमितहरूको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासि उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । 
 
 
ल्याबले कोरोना संक्रमण पुष्टि गर्‍यो । तीन दिनसम्म ज्वरोले छोडेन । जिब्रोमा बिबिरा आए । शरीर दुखेर काँठियो । श्वास लिन समस्या भयो । दुई साताको पीडापछि उनी संक्रमणमुक्त भई फेरि संक्रमितहरूको उपचारमा खटिएका छन् ।
 
अस्पतालकै आइसोलेसनमा १४ दिन बसेका उनी गत शनिबार कोरोना जित्न सफल भएका हुन् । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन । 
 
सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा.रिसालले भने, ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाइ छ । आजको कान्तिपुरमा खबर छ ।