एसिड प्रहार गर्नेलाई कारबाही गर्न तत्काल नयाँ कानुन बनाइने

भाद्र २५,२०७७

-

भदौं २५, २०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् ।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एसिड प्रहारजस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताए ।
 
देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी बिहीबारको विशेष कार्यक्रममा प्रम ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने घोषणा गरेका हुन् ।
 
अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्ने व्यवस्था सरकारले मिलाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।