भूकम्पले धाँजा फाटेका बस्ती नसार्दा सिन्धुपाल्चोकमा पहिरै पहिरो, ११ को शव फेला, २० बेपत्ता
-
भदौं २९,२०७७ काठमाडौं ।
सिन्धुपाल्चोक भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो । गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् ।
बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका-७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर पहिरोले बगाउँदा ११ जनाले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् ।
शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घर भोटेकोसी नदीमा मिसिएका हुन् । ‘यसरी पहिरो आउलाजस्तो लागेको थिएन । अनुमानै नगरेको घटना भयो,’ घटनापछि शोकाकुलको भीडमा कहालिँदै रोइरहेका बाह्रबिसे-७ घुम्थाङ भीरखर्कका ७० वर्षीय सूर्यबहादुर खड्काले भने ।
पहिरो जानुअघिको घुम्थाङ बस्ती
भूकम्प र अविरल वर्षाले थिलथिलो बनेर जोखिमपूर्ण बनेको भूभागको बासलाई गाउँलेले जोखिम अनुमान गरे पनि नछाड्नु र स्थानीय सरकारले पनि वास्ता नगर्दा जनधनको ठूलो क्षति भएको उनले बताए । ‘यस्तो भइहाल्ला भनेर कसैले सोचेको थिएन,’ उनले भने ।
घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भीरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लो गाउँभर झन्डै दुई सय परिवारको बसोबास थियो । भूकम्पपछि घुम्थाङ गाउँभर एकै नीलो रङका चिटिक्कका घरहरू बनेका थिए । आजको कान्तिपुरमा खबर छ ।