आर्थिक संकट टार्न निषेधाज्ञा खुकुलो बनाइएको सरकारको निर्णय

भाद्र ३१,२०७७

-

भदौं ३१,२०७७ काठमाडौं ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि ६ महिनादेखि गरिएका लकडाउन तथा निषेधाज्ञाले आर्थिक संकट निम्त्याउन थालेपछि सरकारले सबै क्षेत्रलाई खुकुलो पार्दै लगेको छ । 
 
झन्डै ६ महिनादेखि बन्द रहेको हवाई उड्डयन र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन, होटल तथा रेस्टुरेन्टसहित पर्यटन क्षेत्र खुला गर्ने र आयोजनाका लागि विदेशबाट श्रमशक्ति ल्याउन पाउने निर्णय गरेको छ ।
 
विभिन्न समयमा सरकारले शैक्षिक र विलासिताबाहेकका क्षेत्र खुला गरिसकेको छ । अर्थतन्त्र चलायमान बनाउने क्षेत्रहरू खुला गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब आर्थिक संकटसँग सरकारले सम्झौता नगर्ने बताए ।
 
 ‘हामीले स्वास्थ्य र आर्थिक दुईवटा संकट सामना गरिरहेका छौं,’ उनले भने, ‘दुवै संकट असाध्यै महत्त्वपूर्ण र चुनौतीपूर्ण छन् । यी दुईवटाका बीचमा समुचित सन्तुलन भएन भने हामीलाई ठूलो जोखिम पैदा हुनेछ ।’ यसकारण कोभिड-१९ को संक्रमण बढिरहे पनि विस्तारै आर्थिक क्षेत्र खुला गर्दै जानुपरेको उनले सुनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।