चीनसँगका नाका ठप्प हुदा नेपाल ल्याउन अर्बौं मूल्यका सामग्री अलपत्र

आश्विन ०२,२०७७

-

असोज २, २०७७ काठमाडौं ।
 
चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् ।
 
 
२०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड-१९ का कारण गत माघदेखि नै ठप्प छ ।
 
 
पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।
 
 
रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड-रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड-१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो ।
 
कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।