‘छाकैपिच्छे भोकको डायरी’ बनाएका बुद्धिमानले पाए बैंकमा जागिर र आर्थिक सहयोग

आश्विन ०२,२०७७

-

असोज २, २०७७ काठमाडौं ।
आर्थिक विपन्नताले थलिएका बुद्धिमान माझीलाई मनकारीहरूको साथ मिलेको छ । सोही दिनबाट आफूलाई विभिन्न क्षेत्रका व्यक्तिबाट सहयोग आइरहेको उनले बताए ।
 
यसबीच उनले करिब एक लाख रुपैयाँ नगद सहयोग पाएका छन् । यसमध्ये अस्ट्रेलियाबाट कुसुम मगरले ४० हजार, राजनीतिकर्मी रवीन्द्र मिश्रले २५ हजार, अन्जना पौडेलले १० हजार उपलब्ध गराएका हुन् । देशविदेशबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको उनले बताए ।
 
‘डिना बुढाथोकीले सुविधानगरस्थित ट्रिटन स्कुलको होस्टलमा राख्नुभएको छ,’ माझीले भने, ‘खाना र बस्न निःशुल्क छ । उहाँकै पहलमा बस्नका लागि कोठाको खोजी भइरहेको छ ।’ बुढाथोकीले उनका तीन भाइको १० कक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएकी छन् । १, ४ र ६ कक्षामा अध्ययनरत भाइहरू सिन्धुलीबाट काठमाडौं आउने भएका छन् । कोटेश्वर बहुमुखी क्याम्पसले उनलाई बीबीएस अध्ययनका लागि चार वर्ष पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ ।
 
समाचार प्रकाशित भएपछि क्याम्पसका प्रिन्सिपल गोविन्द कार्कीले निःशुल्क अध्ययनको सुनिश्चितता गरेका हुन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकमा बुद्धिमानको रोजगारी पक्का भएको छ । उनले बैंकमा आइतबारबाट काम सुरु गर्नेछन् । समाचार प्रकाशित भएपछि झन्डै २० ठाउँबाट जागिरका लागि अफर आएको र आफ्नो अध्ययनको विषय पनि मिल्ने भएकाले बैंक रोजेको उनले बताए ।
 
 
‘मेरो दुःखबारे कान्तिपुरमा छापिएपछि नयाँ जीवन सुरुवात भएको महसुस गरेको छु । बुबाआमा पनि खुसी हुनुभएको छ,’ माझीले भावुक हुँदै भने, ‘अब जागिरसँगै पढाइलाई निरन्तरता दिन्छु । मप्रतिको माया र विश्वासलाई कहिल्यै मर्न दिन्नँ ।’ 
भदौ २६ को कान्तिपुर दैनिकमा उनीबारे ‘छाकैपिच्छे भोकको डायरी’ फिचर प्रकाशित भएको थियो ।