बढी शुल्क लिने ल्याबलाई कारबाही गर्न पत्राचार

आश्विन ०५,२०७७

-

असोज ५,२०७७ काठमाडौं ।
 
छोरीलाई लोक सेवा परीक्षामा सामेल हुन पीसीआर रिपोर्ट आवश्यक भएपछि ललितपुरका रामहरि कार्की आइतबार बिहान सानेपास्थित स्टार अस्पताल पुगे । शुल्क चार हजार चार सय रुपैयाँ लाग्ने भनिएपछि उनले तिर्न मानेनन् ।
 
 ‘सरकारले शुल्क घटाएर २ हजारमा झारिसक्यो तपाईंहरू अझै महँगो लिने ?’ भन्दै केही समय विवाद गरे । विवादपश्चात् पनि शुल्क नघट्ने भनेपछि उनी परीक्षण नगरी फर्किए । पछि कुपण्डोलस्थित विध ल्याबमा २ हजार रुपैयाँमै परीक्षण गरेको उनले बताए ।
 
लेखबहादुर गाहामगरले नातेदारको स्वास्थ्यमा समस्या भएपछि नियमित निःशुल्क डायलसिस गराउने गरेको बल्खुस्थित बयोधा अस्पताल लिएर गए । त्यहाँ बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । 
 
त्यहाँको आईसीयूमा राखेर उपचार गराउन नसक्ने भएपछि उनले अरू कुनै सरकारी अस्पतालमा रिफर गरिदिन भने । कतै पनि आईसीयू बेड खाली नभएपछि बयोधाकै आईसीयूमा भर्ना गरेर उपचार सुरु गरियो । तर एक दिनकै उपचार खर्च औषधिसहित करिब ६३ हजारको बिल हात पर्‍यो ।
 
 ‘हामीले आज पनि कुनै सरकारी अस्पतालमा सार्न सकिन्छ कि भनेर खोज्यौं तर कहीँ पनि खाली छैन भनियो,’ गाहामगरले भने, ‘दैनिक हजारौं रुपैयाँ तिरेर उपचार गराउन सक्ने हाम्रो क्षमता छैन । के गर्ने, के नगर्ने भइरहेको छ ।’
 
काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएसँगै आमनेपालीले भोग्दै आएका समस्याका पात्र हुन् कार्की र गाहामगर । सरकारले तोकेको शुल्कमा सेवा पाऊँ भनेर माग गर्दा उल्टै लज्जित हुनुपर्ने अवस्थाका कारण अहिले सर्वसाधारणमा निजी सेवा प्रदायक तथा सरकारप्रति रोष बढेको छ ।
 
एकातर्फ समाजमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, अर्कोतर्फ यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि मिलेर अगाडि बढ्नुपर्ने निकायहरूबीच नै शुल्कको विषयलाई लिएर द्वन्द्व चर्किन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र निजी अस्पतालर प्रयोगशालाहरूबीच शुल्कका विषयलाई लिएर असमझदारी गहिरिँदै जाने अवस्था सिर्जना भएको छ ।
 
सरकारले तय गरेको शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने बताउँदै आफ्नै हिसाबमा शुल्क लिइरहेका निजी अस्पताल तथा प्रयोगशालाको अनुगमन गरी नियमानुसार कारबाही गर्न मन्त्रालयले वाणिज्य विभाग र गृह मन्त्रालयलाई बिहीबार पत्राचार गरेको छ ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।