सीमास्तम्भ खोज्‍न गएको टोली वार्ता नगरी लाप्चाबाट फर्कियो

आश्विन ०७,२०७७

-

असोज ७, २०७७ काठमाडौं ।
 
नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले बनाएका संरचनाबारे पनि कुराकानी गर्न खोजेको थियो ।
 
नाम्खा गाउँपालिका–६, लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो ।
 
 
टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । त्यहाँ रहेका चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट आफ्ना प्रतिनिधि आउँदै गरेको जानकारी दिँँदै पीपीई सेट लगाएर बस्न भनेका थिए ।
 
 
करिब डेढ घण्टा कुरेपछि चार जना चिनियाँ अधिकारी आएका थिए । ‘उनीहरूले कोरोनाको डर छ, यहाँ कुराकानी नगरौं, बरु बोर्डरलाइन ९सीमारेखा० मा बसौंला भनेर माइकिङ गरे,’ उनले भने, ‘त्यसपछि हामी फर्कियौं, कुराकानी भएन ।’ उनका अनुसार चिनियाँ अधिकारीले भवन बनाएको भूभाग चीनकै भएको बताएका थिए ।
 
ललुङजोङमा चीनले सानाठूला गरी ११ वटा भवन बनाएको छ । लाप्चादेखि करिब ४ किलोमिटर पश्चिममा पर्छ । चिनियाँ पक्षको जवाफपछि नेपाली टोली हिल्सातर्फ लागेको थियो । हिल्सामा ८ नम्बरको स्तम्भ छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।