शनिबारसम्म देशभर वर्षा हुने

आश्विन ०७,२०७७

-

असोज ७,२०७७ काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए। मनसुन बाहिरिने औसत समय बुधबार अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । 
 
अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ, मौसमविद् कँडेलले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
 
राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाको पनिछल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाका ४५.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ४८.०,  धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ । रासस