सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पढाउन पठाइँदै

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
 
सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज होस् भनेर यसै साताबाट शिक्षकलाई घरदैलोमा खटाउने भएको हो ।
 
 
विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्न यस खालको कार्ययोजना अघि सारिएको घोषणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरिसक्नुभएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विशेष अवस्थाका बालबालिकाको सिकाइ सुनिश्चित गर्ने दायित्व राज्यको भएको चर्चा गर्दै त्यसैका लागि शिक्षक परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिए ।
 
 
सरकारले यसअघि विशेष अवस्थाका बालबालिकाका लागि आवासीय विद्यालय सहितको स्रोत कक्षा सञ्चालन गर्ने गरेको थियो । यसपटक कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा ती कक्षा सञ्चालन हुन सकेका छैनन् । यो अवस्थामा शिक्षकलाई जनस्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित र सम्भव भए सम्मका स्थानमा पठाउने सरकारी कार्ययोजना छ ।
 
 
विद्यालय र स्थानीय तहको समन्वयमा यस खालको कार्ययोजना कार्यान्वयनमा ल्याउने सरकारी तयारी छ । यो वर्गका विद्यार्थी वैकल्पिक विधिका रूपमा सञ्चालित अनलाइन, रेडियो, टेलिभिजनको दायरामा समेटिन सकेका छैनन् । वैैकल्पिक विधिमा ती विद्यार्थी सहभागी हुन नसक्दा उनीहरूको न्यूनतम सिकाइ सुनिश्चित नहुने र यसबाट ती वर्गको शैक्षिक सत्र खेर जान सक्ने खतरालाई दृष्टिगत गरी शिक्षक परिचालनको कार्यक्रम अघि सारिएको हो । अपाङ्गता भएका विद्यार्थीलाई घरदैलोमा सेवा प्रदान गर्दा शिक्षा सम्बन्धी तालिम प्राप्त शिक्षक परिचालन गर्न प्राथमिकता दिने सरकारी तयारी छ । आजको गोरखापत्र दैनिकमा खबर छ।