नवलपरासी, चितवन र कपिलवस्तुका ३ जना कोरोना संक्रमितको मृत्यु

आश्विन ०८,२०७७

-

असोज ८, २०७७ काठमाडौं ।
 
बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।
 
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।
 
यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा। गौतमले बताए ।
 
यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।
 
तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
 
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति मृत्यु भएको हो ।