विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु, १५ बेपत्ता

आश्विन ०९,२०७७

-

असोज ९, २०७७ काठमाडौं ।
६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । 
 
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १७ जनाको मृत्यु भएको हो ।
 
 
यी तीन दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका छन् । विपद्का ३० वटा घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो ।
 
 
‘विगत तीन दिनमा सबैभन्दा बढी बिहीबार १४ जनाको प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएको छ । यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको देखिन्छ,’ केन्द्रका प्रमुख वस्तीले भने ।
 
आजको राजधानी दैनिकमा खबर छ ।