Trending :
 

संकटमै सम्पन्‍न हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आश्विन ११,२०७७

-

असोज ११, २०७७ काठमाडौं ।
भैरहवा र पोखरा:लकडाउन अवधिमा अधिकांश साना-ठूला आयोजनाका काम रोकिए। कामदार अभावसँगै कोरोना संक्रमण त्रासले आयोजना प्रभावित भए। तर,भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन। लकडाउनको सुरुआतमा समस्या आए पनि त्यसलाई सल्टाउँदै आयोजना अघि बढेपछि प्रगति देखिएको छ। यो विमानस्थलको काम अन्तिम चरणमा छ। यस आयोजनाको लकडाउन अवधिको भौतिक प्रगति साढे ४ प्रतिशत छ। 
 
‘भौतिक संरचनाका मुख्य काम सकिएका छन्’आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘आयोजना सम्पन्न हुन अबको काम उपकरण जडान र केही फिनिसिङ मात्र हो।’ उनका अनुसार विमानस्थलको काम करिब ९३ प्रतिशत सम्पन्न भएको छ। बाँकी ७ प्रतिशतमध्ये ५ प्रतिशत उपकरण जडानको काम हो भने २ प्रतिशत फिनिसिङ।
 
उपकरण जडान गर्न चीनबाट ३५ जना दक्ष जनशक्ति आउन लागेका छन्। आयोजना प्रमुख अधिकारीका अनुसार यहाँ आउन उनीहरूले चीनस्थित नेपाली दूतावासमा भिसा प्रक्रिया अघि बढाएका छन्। ३५ जनामा तीनवटा एसी जडान, धावनमार्गमा लाइटिङसम्बन्धी र टर्मिनल भवनमा अन्य उपकरण जडान गर्नेहरू छन्। विद्युतीय उपकरण जडानसँगै विमानस्थल सञ्चालनमा आउनेछ। यो अवधि भनेको जम्मा ९० दिन हो।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही दिनअघि विमानस्थल निरीक्षण गरेका थिए। त्यस क्रममा मन्त्री भट्टराईले भनेका थिए, ‘कोभिड १९ को महामारीले असर नगरेको भए आयोजना सम्पन्न भएर विमान उडानको प्रक्रिया पनि सञ्चालन भइसक्ने थियो।’ 
 
कोरोना महामारीका कारण हवाई उडान नहुँदा चीनबाट दक्ष जनशक्ति आउन नसकि आयोजना सम्पन्न गर्न ढिलाइ हुन पुगेको हो।  दक्ष जनशक्ति आउन नसके पनि विमानस्थलमा अन्य काम भने तीव्र रूपमा भइरहेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।