कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने
-
असोज १४,२०७७ काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड-१९ का कारण पछि सरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुसरमाघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सातरआठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।
उहाँले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन/चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिकै परीक्षा हुन्छ तर तीन/चार महिनायता सहज होलाजस्तो पनि देखिँदैन । ”
भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुन्छ तर ढिला भने हुने भयो, उहाँले थप्नुभयो । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।
कोरियामा कोरोना सङ्क्रमण नियन्त्रणतर्फ भए पनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौँ मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनुपर्छ भनेर कुनै पहल गरेको छैन ।
ईपीएस शाखाका अनुसार कोरोना सङ्कट सुरु भएयता एक हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दासमेत अहिलेसम्म कोरिया जान पाएका छैनन् ।
शाखाका अनुसार उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।