कालोबजारी गर्नेमाथि कारबाही शुरू, २७ फर्ममाथि कारबाही गर्न सिफारिस
-
असोज १५, २०७७ काठमाडौं ।
कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ ।
चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु निर्माण गर्ने, बासी र सडेगलेका मासु बेचबिखन गर्ने, खान अयोग्य पानी बिक्रीवितरण गर्नेजस्ता अपराधजन्य क्रियालाप बढ्न थालेपछि समितिले सक्रियता बढाएको हो ।
कामपाले अनुगमन क्रममा पसलमा मूल्यसूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाणपत्र, लेबलमा खुलाउनुपर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र भएनभएको विषय खोजी गरेको थियो ।
यस अवधिमा कामपाले २७ फर्म तथा कम्पनीलाई २ लाख ५५ हजारसम्मको जरिवाना सिफारिस गरेको छ । कामपा कृषि विभाग प्रमुख एवं समितिका टोली प्रमुख हरि भण्डारीले राजधानीबासीलाई मनपरी सामग्री बिक्रीवितरण गर्ने कम्पनी र फर्ममाथि कारबाही गर्न सिफारिस गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘अनुगमनका क्रममा मनोमानी गर्ने कम्पनी र व्यक्तिलाई कारबाही गर्न वाणिज्य विभागलाई सिफारिस गरेको हौं ।’ कसुरका आधारमा अनुगमन टोलीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीको सिफारिस गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।