Trending :
 

सस्तो ब्याजमा आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

आश्विन २१,२०७७

-

असोज २१,२०७७ काठमाडौं ।
आउँदो कात्तिकभित्र ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाएको सरकारले यो आवमा पहिलो चौमासबाटै सुरु गरेको हो ।
 
बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जा माग नभएकाले अधिक तरलता थुप्रिएको छ । यही मौका पारेर सरकारको निर्देशनमा राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन सुरु गरेको हो । 
 
अहिले आन्तरिक ऋण उठाउँदा ब्याजदर सस्तो पर्नुका साथै वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन हुने भएकाले पहिलो चौमासमा आन्तरिक ऋण उठाउन लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘एकातिर सरकारलाई ब्याजभार कम हुन्छ भने अर्कोतिर बैंक तथा वित्तीय प्रणालीको अधिक तरलता पनि व्यवस्थापन हुन्छ,’ उनले भने, ‘बजारबाट उठाएको आन्तरिक ऋण सरकारले पूर्वाधार निर्माणमा लगाउनेछ ।’
 
 
गत आर्थिक वर्षमा सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा १ सय ९४.६४ अर्ब रुपैयाँ उठाएको थियो । त्यतिबेला साढे ६ देखि ७ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण उठाएको सरकारले मंगलबारसम्म ४.७७ प्रतिशत ब्याजदरमै ऋण लिएको छ । 
 
मंगलबारसम्म सरकारले २० अर्ब रुपैयाँ बराबरको नौवर्षे विकास ऋणपत्र र १० अर्ब रुपैयाँ बराबरको ७ वर्षे विकास ऋणपत्रमार्फत आन्तरिक ऋण संकलन गरेको हो । आउँदो कात्तिकभित्र ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स र २० अर्ब रुपैयाँ बराबरको १० वर्षे ऋणपत्र बिक्री गर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।