विदेशमा बन्धक बनाएर नेपालमा फिरौती मागेपछि फन्दामा
-
असोज २२,२०७७ काठमाडौं ।
दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्।
उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्। त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पुर्याए। त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुखलाई जानकारी गराए।
प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए। डीआईजी थापाका अनुसार पीडित रैदास केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन्। त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए। श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो।
अभियुक्त श्रेष्ठ मलेसियास्थित टप ग्लोभ कम्पनीस्थित नेला कर्नर क्यान्टिन सञ्चालक रहेछन्। श्रेष्ठकै योजनामा उनकी पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीले रैदासलाई ६ दिन बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको छ। रकम जम्मा भएपछि छाडिएका रैदास पनि सोही कम्पनीमा कार्यरत छन्।
श्रेष्ठले मलेसियामा रहेका सोझा नेपाली कामदारलाई धम्क्याएर रकम असुल तथा कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी २२ वर्षदेखि मलेसियामा बस्दै आएको पाइएको छ। ६ वर्षदेखि मलेसियामा कार्यरत रैदासलाई कम्पनीको पैसा चोरेको अभियोग लगाएर चालकको कोठामा थुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।