Trending :
 

कोरोना जोखिमको कारक नै होम आइसोलेसन, जोखिमबाट जोगाउन मुस्किल

आश्विन २२,२०७७

-

असोज २२,२०७७ काठमाडौं ।
संघीय राजधानी काठमाडौंलाई कोरोना जोखिमबाट जोगाउन मुस्किल पर्न थालेको छ । राजधानीमा दैनिक करिब एक हजारको संख्यामा संक्रमित थपिन थालेपछि १८ स्थानीय निकायलाई कसरी संक्रमितको दर घटाउने भन्ने विषयमा हम्मेहम्मे पर्न थालेको हो ।
 
 
विशेष गरी काठमाडौं र ललितपुर महानगरमा मात्रै संक्रमितको संख्या १४ हजारको हाराहारीमा पुगिसकेको छ । यसको एउटै मात्र मुख्य कारण होम आइसोलेसनमा बसेका संक्रमितहरु जताततै डुल्दै हिँड्नु । स्थानीय तहले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको दाबी गरे तापनि पछिल्लो समयमा त्यो काम पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।
 
 
चिनेजानेका र उपल्लो ओहोदामा रहेका व्यक्तिसँग नजिक भएकालाई चासो दिएर सोध्ने गरे पनि सामान्य व्यक्तिको बारेमा कुनै चासो लिने गरेको छैन । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर स्थानीय तहका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले धान्न नसक्ने भएपछि कोरोना संक्रमितको अवस्थाबारे गम्भीर हुन नसकेको हो ।
 
सरकारले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नगर्न र देखेका व्यक्ति सकभर होम आइसोलेसनमा बस्न आग्रह गरेपछि उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको हो । विशेष गरी स्वास्थ्य मापदण्ड पूरा नगरी मास्कबिना नै जथाभावी हिँड्ने, भीडभाडामा सहभागी हुनाले समस्या बढेको देखिएको छ ।
 
एक संक्रमितले नेपाल समाचारपत्रसँग भने-‘मलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेको छु । तर मलाई तपाईंको अवस्था कस्तो छ भनेर अहिलेसम्म एक कल पनि आएको छैन ।’ ‘म त एक प्रतिनिधि पात्र मात्र हुँ, मजस्ता यस्ता सयौं व्यक्तिको अवस्था त्यस्तै छ।’-उनले भने ।
 
कसैले सोर्सफोर्स लगाए वा भनसुन गरे उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र कोही नभएका व्यक्तिलाई जस्तो परिस्थिति आएपछि एक कल फोन नगर्ने परम्परा बढेको छ । कोरोना संक्रमित देखिएका व्यक्तिको बारेमा अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी दिने गरेको छ । महाशाखाले ती व्यक्तिको अवस्थाबारे जानकारी लिन जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क नम्बरसहितको विवरण पठाउने व्यवस्था छ ।
 
 
जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय निकायलाई संक्रमितको ठेगाना र सम्पर्कसहितको विवरण पठाउने व्यवस्था छ । स्थानीय निकायले वडाअन्तर्गत सबैको अवस्थाबारे जानकारी लिने गरेको दाबी गरेको छ ।
 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमणको विषयमा जनताले आफै चासो राख्नुपर्ने बताउनुभयो ।  आजको नेपाल समाचारपत्रमा खर छ ।