निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

आश्विन २५,२०७७

-

असोज २५,२०७७ काठमाडौं ।
देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका । 
 
दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउँछन् ।
 
 
“निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच लाख रुपियाँ तलब दिनुपर्छ । कोरोनाले केही महिना यता विद्यालय बन्द हुँदा हामीले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ,” प्रअ दवाडीले भने ।
 
दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राख्न बाध्य भएको उनको भनाइ छ । उनी थप्छन्, “असारसम्म त हामीले बनाउँदै गरेको विद्यालय भवनको निर्माणको काम रोकेर त्यसको बजेटले शिक्षकलाई तलब दिएका हौँ । 
 
अहिले त साउन यता तलब दिएको छैन । दशैँको मुखमा न उहाँहरूलाई तलब दिन सकिन्छ न त विद्यालयमा नियमित पढाऔँ भन्न सकिन्छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।