Trending :
 

लक्षणयुक्त कोरोना संक्रमणले मृत्यु दर बढ्यो, नेपाल र भारतबीच समानता देखिन सक्ने

आश्विन २६,२०७७

-

असोज २६,२०७७ काठमाडौं ।
 
लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् । नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हजार निको पनि भएका छन् । सक्रिय संक्रमित उल्लेख्य रूपमा कम नभएसम्म मृत्यु हुनेहरूको संख्या बढिरहने विज्ञहरूले बताएका छन् । 
 
 
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले मुलुकमा हालसम्मको मृत्यु संख्या हेर्दा दर बढेको भन्न नसकिने भए पनि पछिल्ला दिनमा बढी व्यक्तिको मृत्यु भइरहेको बताए ।
 
उनले लक्षणसहितका संक्रमित फेला पर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए । काठमाडौंमा शनिबार संक्रमण पुष्टि भएकामध्ये करिब २२ प्रतिशतमा लक्षण थियो । अहिलेसम्म मुलुकमा संक्रमण देखिएका १ लाख ७ हजार ७ सय ५५ जनामध्ये ६ सय ३६ जना अर्थात् ०.५९ प्रतिशतको ज्यान गएको छ । शनिबारसम्म मृत्युदर ०.५८ प्रतिशत थियो ।
 
 
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार देशभरि कोभिड–१९ ले ज्यान गुमाएकामध्ये सबैभन्दा बढी ४२.४५ प्रतिशत वाग्मती प्रदेशका छन् । २२.०१ प्रतिशत प्रदेश २, १४.९३ प्रतिशत लुम्बिनी, १२.१० प्रतिशत प्रदेश १, ५.०३ प्रतिशत गण्डकी, २.३५ प्रतिशत सुदूरपश्चिम र १.१ प्रतिशत कर्णालीका छन् । सरकारी तथ्यांकअनुसार कर्णाली प्रदेशमा कोभिड–१९ ले ७ जनाको मात्र मृत्यु भएको छ ।
 
हालसम्म मुलुकका २७ जिल्लामा प्रयोगशाला प्रमाणित संक्रमितको मृत्यु नभएको डा. अधिकारीले बताए । प्रदेश २ मा संक्रमणले मृत्यु भएकाहरू आठवटै जिल्लाका छन् । प्रदेश १ का इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु, वाग्मतीका रामेछाप र सिन्धुलीमा कसैको मृत्यु भएको छैन । यस्तै, गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ, लमजुङ, लुम्बिनी प्रदेशका रुकुम पूर्व र रोल्पा, कर्णालीका कालीकोट, जाजरकोट, जुम्ला, मुगु, रुकुम पश्चिम, सल्यान, हुम्ला र सुदूरपश्चिमका डडेलधुरा, डोटी, दार्चुला र बैतडीमा पनि कोभिड–१९ बाट मृत्यु देखिएको छैन ।
 
ईडीसीडी निर्देशक डा. पाण्डेका अनुसार दुर्गम पहाडी जिल्ला बढी सुरक्षित देखिएका छन् । ‘घना बस्ती भएको ठाउँ, डेरामा बस्ने, घामरहावा नआउने ठाउँमा बढी मात्रामा संक्रमण देखिएको छ,’ उनले भने, ‘पहाडी जिल्लामा संक्रमित फाट्टफुट्ट देखिने र फेरि केही दिनमा त्यो ठाउँ संक्रमणमुक्त हुने गरेको देखिएको छ । 
 
टाढा–टाढा घर, आपसमा भेटघाटको कम अवसर, खुला ठाउँ आदिले पहाडी क्षेत्र सुरक्षित छन् ।’ निर्देशक डा. पाण्डेले जिन, भूगोल, संस्कृति लगायतका समानताले गर्दा मृत्युदरमा नेपाल र भारतबीच समानता देखिन सक्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।