Trending :
 

त्रिविका पदाधिकारीले दोहोरो सुविधा लिन पाउने नियम स्वीकृत

आश्विन २६,२०७७

-

असोज २६,२०७७ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दोहोरो सुविधा लिने नियम स्वीकृत गरेका छन् । उनीहरुले चार वर्षअघि बनेको नियमलाई खारेज गर्दै पेन्सन र सुविधा दुवै लिने निर्णय गरेका हुन् ।
 
एक साताअघि सम्पन्न त्रिवि सभा (सिनेट)को भर्चुअल बैठकले २०७३ साल पुस १८ को नियमलाई उल्ट्याएर दोहोरो सुविधा लिने निर्णय गरेको हो । त्रिविको सेवामा कार्यरत शिक्षक, कर्मचारी, त्रिवि सेवाबाट अनिवार्य अवकाश भएपछि पेन्सन पाउने व्यवस्था छ । त्रिविका पदाधिकारीले यो व्यवस्था उल्ट्याएर पुनः दोहोरो सुविधा लिने निर्णय गरेका हुन् ।
 
नियममा त्रिविका शिक्षक, कर्मचारीहरु त्रिविको पदाधिकारी वा सरकारको अनुदानप्राप्त निकायमा नियुक्ति भएमा दुईमध्ये एक मात्र सुविधा लिनुपर्ने व्यवस्था थियो । तर सो व्यवस्थालाई उल्ट्याएर पेन्सन र सुविधा लिने व्यवस्था गरेको हो ।
 
यसअघि तत्कालीन उपकुलपति प्राडा तीर्थराज खनियाँको कार्यकालमा दुईमध्ये एक मात्र निकायबाट सुविधा लिने निर्णय गरेको थियो । ‘मेरो कार्यकालमा निर्णय गरे पनि अन्य सरकारी निकायमा कार्यरत कर्मचारीले दोहोरो सुविधा लिने गरेका थिए।’-पूर्वउपकुलपति प्राडा खनियाँले भन्नुभयो ।
 
त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ५४ ‘क’मा एउटा मात्र सुविधा पाउने उल्लेख थियो । भर्चुअल बैठकमा कतिलाई जानकारी नै नभईकन यो निर्णय गरिएको थियो ।
 
‘भर्चुअल बैठकमा बसियो, यो निर्णय भएकोबारे न जानकारी भयो, न त राम्ररी पढ्नै पाइयो।’ –त्रिवि सभासद् एवं पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले भन्नुभयो । उहाँले यस्तो विषयमा प्रस्ताव लैजानुअघि सरोकारवाला निकाय र व्यक्तिसँग सल्लाह गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
 
अब त्रिविका पदाधिकारी रजिस्ट्रार प्राडा पेशल दाहाल, राष्ट्रिय योजना आयोगकी सदस्य उषा झालगायतले दोहोरो सुविधा लिन पाउनेछन् । रजिस्ट्रार दाहाल, उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटासमेत अवकाशप्राप्त शिक्षक हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।