Trending :
 

सुविधा मोहले सरकारी ढुकुटीमा संकट

आश्विन २७,२०७७

-

असोज २७, २०७७ काठमाडौं ।
 
धेरै कर्मचारीलाई कोरोना देखिँदा जिल्लास्थित कतिपय सरकारी कार्यालय निश्चित समयका लागि बन्द हुने गरेका छन् । तर कर्मचारीलाई कोरोना देखिए पनि राजस्व कार्यालयहरू बन्द नगरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
 
 
‘कोरोना देखिएका कार्यालय बन्द गर्न पाउने सुविधा सरकारले दिएको छैन, अर्कोतर्फ हिजोआज सरकारलाई एक–एक रुपैयाँ राजस्व संकलनको महत्त्व रहेकाले पनि बन्द नगरिएको हो,’ विभागसम्बद्ध एक अधिकारीले भने ।
 
कोभिड–१९ का कारण अर्थतन्त्र शिथिल बनेकाले सरकारी खर्चको मुख्य स्रोत राजस्व संकलनमा कमी आइरहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने ध्याउन्नमा सरकार छ । यसकारण पनि हिजोआज राजस्व छुट तथा भाखा पर सार्ने निर्णय सरकारले गरेको छैन ।
 
सरकारी लेखाप्रणालीको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोआज संकलित राजस्वले चालु (प्रशासनिक) खर्च मात्रै धानिरहेको छ । पुँजीगत तथा वित्तीय व्यवस्थातर्फका लागि ऋण र गत वर्ष बचत भएको रकमबाट खर्च गर्नु परिरहेको छ ।
 
कार्यालयको तथ्यांकअनुसार आइतबारसम्ममा १ खर्ब ५४ अर्ब २४ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्योभन्दा बढी १ खर्ब ५४ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ चालु शीर्षकमा खर्च भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।