उपत्यकाका सबै सरकारी अस्पताल कोरोनाका लागि मात्रै, अन्य बिरामी कहा जाने ?
-
असोज २७,२०७७ काठमाडौं ।
कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा परिणत गर्ने निर्णय गरेको छ । राजधानीमा संक्रमणदर उकालो लागेर लक्षणसहितका संक्रमित बढ्न थालेपछि सरकारले थप कोभिड अस्पतालको व्यवस्था गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले अस्पताल र स्वास्थ्यसेवामा देखिएको संकट व्यवस्थापनका लागि उक्त निर्णय गरेको जनाएको छ । मन्त्रालयले उपत्यकाका अस्पताललाई हाल आकस्मिकबाहेकका नियमित शल्यक्रिया नगर्न निर्देशनसमेत दिएको छ ।
‘कोभिड संक्रमणको अवस्था नियन्त्रित हुँदै गएपछि मात्र आकस्मिकबाहेकको नियमित शल्यक्रिया गर्न भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘हाललाई स्वास्थ्यसेवा विभागसँग रहेका आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारमा आवश्यक सामग्री उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गरिनेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।