कोरोनाको अत्यासमा रमिते ओली सरकार
-
असोज २८, २०७७ काठमाडौं ।
घर-आँगनमा दसैंले चियाइसक्दा पनि कसैमा उल्लास छैन, न त कुनै उमंग छ । अनौठो बेचैनी र भयग्रस्त मनोविज्ञानमा छ सिङ्गो समाज । रोग, भोक र भविष्यको चिन्तामा पिरोलिँदै अनिश्चयको भुमरीमा पिङ खेलिरहेको छ । दस महिनाअघिको चीनको औद्योगिक सहर वुहानको मनोदशामा छ नेपाली समाज, यो बेला ।
३१ डिसेम्बर २०१९ । वुहानसहित पूरै चीन ‘वसन्तोत्सव पर्व’ को तयारीमा उत्साहित हुँदै जुटिरहेको थियो । पारिवारिक पुनर्मिलन र जमघटका तयारी हुँदै थिए । एउटा ‘अदृश्य शत्रु’ को प्रवेशसँगै उत्साह निराशामा बदलियो । वुहानमा नयाँ रोग फैलियो भनेर सामाजिक सञ्जालमा भएको हल्ला सत्य साबित भएको थियो । त्यही रोगको त्रासले दसैंको मुखमा हामी पनि लखेटिएका छौं ।
डिसेम्बरको अन्त्यतिर वुहानको मासु बजार क्षेत्रमा सामान्य रुघाखोकी हुँदै निमोनिया भएका बिरामीको संख्या बढ्न थाल्यो । सामान्य भाइरल भन्ठानेर सुरुमा वुहानवासीले हलुका ढंगले लिए । तर, संक्रमितको संख्या बढ्न थालेपछि सार्स, मर्सको महामारी खेपेका उनीहरूले ‘सेन्स’ गरिहाले-नयाँ महामारी भित्रिँदै छ ।
७ जनवरी २०२० मा वुहान पुगेको विशेषज्ञ टोलीले भन्यो, ‘भाइरल इन्फ्लुएन्जा रोगका जीवाणुहरू नोभल कोरोना भाइरस हुन् ।’ थप अध्ययनमा चिनियाँ विज्ञले पत्ता लगाए र २० जनवरीमा भने, ‘यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको छ ।’
विशेषज्ञ समूहले त्यस्तो निर्क्योल निकालेपछि चिनियाँ सरकारले यसको रोकथाम र नियन्त्रणतर्फ ढिलो नगरी पाइला चाल्यो । २३ जनवरीमा वुहानमा लकडाउन घोषणा गरियो । छोटो–लामो दूरीका सबै यातायात बन्द भए । अत्यावश्यकबाहेक वुहान छोड्न निषेध गरियो ।
तर दुर्भाग्य, त्यतिन्जेल वुहानको कोरोनाले चीनबाहिर यात्रा थालिसकेको थियो । १३ जनवरीमै वुहानबाट आएका एक कोरोना संक्रमित पुरुष बैंकक विमानस्थलमा भेटिए भने, चीनभित्रै बेइजिङ र सांघाईमा फाट्टफुट्ट संक्रमति भेटिन थाले । चीनबाहिर अमेरिका, जापान, दक्षिण कोरियामा वुहानबाट गएका संक्रमित भेटिए ।
त्यस बखत नेपालमै पनि वुहानबाट आएका एक विद्यार्थीमा संक्रमण देखियो । ती विद्यार्थीको स्वाब परीक्षण गर्न हङकङको प्रयोगशाला पठाइयो । २४ जनवरीमा आएको रिपोर्टमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।
एकाध संक्रमित देखिएको नेपाल मात्रै होइन, पश्चिमा मुलुकहरूले समेत कोरोनालाई गम्भीर रूपमा लिएनन् । चीन ‘अदृश्य शत्रु’ सँग लड्दै गर्दा बाँकी विश्व रमितेजस्तै बन्यो । संक्रमणको दस महिना नाघिसक्दा दृश्य फरक छ । सबैजसो मुलुक कोरोना संक्रमणको चपेटामा छन् । अमेरिकाका राष्ट्रपतिदेखि सामान्यजनसम्म प्रभावित छन् । विश्वभरका ३ करोड ८१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने, झन्डै एघार लाखले ज्यान गुमाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।