बूढीगण्डकीमा नेताहरुले ९ अर्ब खाएको विषय हिसाब गरेरै बोलेको भट्टराईको अभिव्यक्तिले तरंग
-
असोज २८, २०७७ काठमाडौं ।
२०६९ मंसिरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेसँगै राजनीतिक वृत्तमा प्रवेश गरेको यो आयोजनाका बारेमा विवाद नभएका वर्ष छैनन् । निर्माण मोडालिटीदेखि आयोजना ठेक्का सम्झौताका निर्णय गर्ने सरकार तथा राजनीतिक नेतृत्व विवादमा पर्दै आएका छन् ।
सार्वजनिक खरिदका विधि र प्रक्रिया पूरा नगरी विवादास्पद रूपमा काम भइरहेको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री भट्टराईले नै केही दिनअघि दिएको अभिव्यक्तिले यो आयोजनाबारे नयाँ तरंग पैदा गरेको छ । गत बिहीबार गोरखामा आयोजित एक सार्वजनिक कार्यक्रममा भट्टराईले ‘बूढीगण्डकी आयोजनामा केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब कमिसन बाँडेर खानुभएको छ, यो कुरा प्रमाणित गर भने तुरुन्त गर्न सक्छु’ भन्ने दाबी गरेका थिए ।
लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्तिदेखि सामाजिक सञ्जालमार्फत धेरैले भट्टराईलाई त्यस्तो प्रमाण सार्वजनिक गर्न वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउन चुनौती दिएका छन् ।
तथ्यमा आधारित हो कि सार्वजनिक खपतका लागि गरिएको भाषण मात्रै हो भन्ने भट्टराईले यसबारेमा गर्ने थप गतिविधिले देखाउनेछ । सोच, विचार गर्दै हिसाब गरेर बोलेको जनाएका छन् । त्यसको प्रमाण भने उपयुक्त समयमा सार्वजनिक गर्ने उनको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।