Trending :
 

सिनेमा हलका टिकट र सिट मुसाले काटिदियो

आश्विन २८,२०७७

-

असोज २८, २०७७ काठमाडौं ।
 
झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा लाखौं मूल्यका सिट मुसाले काटेर काम नलाग्ने पारिदिएको छ ।
 
हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ ।
 
करोडौं लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ ।
 
हेटौंडा-४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ । कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ । हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ । हलका करिब ३५ देखि ४० वटा सिट मुसाले टोकेर काम नलाग्ने अवस्थामा पु¥याएको छ ।
 
हल सञ्चालक नवराज आचार्य भन्नुहुन्छ-‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो, जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन् । हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि चिन्तित बनाएको छ ।’ प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए । त्यहीअनुसार मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोख्नुभयो ।
 
मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन भन्नुहुन्छ-‘हलमा मुसाले दुःख दिइरहेको छ । करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ ।’ ‘कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ।’-उहाँ भन्नुहुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।