ऐलानी जग्गाको समेत मुआब्जा दिएर सोलु-मिर्चैया प्रसारण लाईनको काम अघि बढाइने

आश्विन २९,२०७७

-

असोज २९,२०७७ काठमाडौं ।
दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो ।
 
स्थानीयवासीको मागअनुरूप ऐलानी जग्गाको समेत मुआब्जा भुक्तानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सहमति जनाउनु भएपछि अवरोध खुल्ने अवस्था आएको हो । स्थानीयवासीले प्रसारण लाइनको बाटो ९राइट अफ वे०मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राख्दै आएका थिए ।
 
मन्त्री पुनले मङ्गलबार सो क्षेत्रका सङ्घीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु कोरिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरी स्थानीयवासीको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सहभागीले निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।
 
यो प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।
 आजको गोरखापत्रमा खबर छ ।