चाडपर्वमा पनि पठनपाठनले विद्यार्थी तनावमा
-
कात्तिक ४,२०७७ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण घरमै बसेर अध्ययन ९होम स्कुलिङ० गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् । सरकारले वैकल्पिक विधिलाई पठनपाठनको मूलधारका रूपमा स्वीकृति दिएको तथा निर्धारित समयमै पठनपाठन पूरा गरी शैक्षिक सत्रसमेत दुपयोग गर्नुपर्ने भएकाले चाडपर्वको बिदा छोट्याएर पढाइ अघि बढाउने योजनामा विद्यालयहरू जुटेका छन् ।
ललितपुरको आदर्श सौल युवक माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य यस पटक कात्तिक ६ देखि १६ गतेसम्म मात्रै विद्यार्थीलाई बिदा दिने र अरू बेला अनलाइन कक्षा नियमित सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस पटक चाडपर्वको मुखैमा पनि बालबालिकाको कक्षा नियमित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
सरकारले आगामी चैतमा यस वर्षको शैक्षिक सत्र पूरा गर्ने भनेकाले पनि विद्यार्थीको पढाइमा केही कसिलो बनाउनुुपर्ने अवस्था रहेको जनाइएको छ । बिदा कम दिने नै आफूहरूको नीति रहेको उल्लेख गर्दै प्रअ आचार्यले निर्धारित समयमा कोर्स पूरा गर्न आफूहरूलाई हम्मेहम्मे पर्ने स्थिति देखिएको बताउनुभयो ।
कोर्स पूरा गर्न नसकिने अवस्था भएको खण्डमा सरकारको निर्देशनअनुसार पाठ्यक्रम छोट्याउनुपर्ने उहाँको भनाइ छ । विद्यार्थीको पठनपाठन अघि बढाएर आगामी मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने कार्ययोजना विद्यालयले बनाएको छ ।
कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछाने सामुदायिक विद्यालयका अनलाइन कक्षामा हालै मात्र विद्यार्थी जोडिने क्रम बढ्दै गएकाले केही दिन कक्षा अझै नियमित हुने बताउनुहुन्छ ।
दशैँमा बढीमा १० दिन मात्रै बिदा दिएर चाडपर्वमा समेत विद्यार्थीलाई घरमै बसेर गरिने अध्ययनलाई निरन्तरता दिन आफूहरूले आग्रह गरेको उहाँको भनाइ छ । कोरोना भाइरसका कारण धेरै महिना सार्वजनिक विद्यालयको कक्षा कोठा सञ्चालन हुन नसकेको अवस्थामा अब थप गतिका साथ पढाउनुपर्ने र विद्यार्थी तथा अभिभावकलाई पनि सोहीअनुसार जानकारी गराइएको उहाँ बताउनुहुन्छ ।
विद्यार्थीलाई चाडपर्वका बेलामा पनि पढ्न र परीक्षाका लागि समेत तयार हुने गरी आफूहरूले प्रशिक्षित गरेको जानकारी प्रअ लामिछानेले दिनुभयो । तिहारअघि नै पहिलो त्रैमासिक परीक्षा लिने योजना रहेको जनाइएको छ ।आजको गोरखापत्रमा खबर छ ।