अब हेटौंडा-काठमाडौंको सडक दूरी ५४ किलोमिटर
-
कात्तिक ४,२०७७ काठमाडौं ।
संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं-निजगढ द्रूतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका-८ र इन्द्रसरोवार गाउँपालिका-३ को गेट दोभानमा जोड्ने तयारी थालिएको छ ।
यस योजनालाई सफल बनाउन सके हेटौंडा-काठमाडौंको सडक दूरी ५४ किलोमिटर मात्र हुने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेअनुसार अध्ययन थालिएको छ ।
बाराको निजगढदेखि संघीय राजधानी काठमाडा द्रँतमार्गसँग हेटौंडा-काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको हो ।
प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गर्नुभएको थियो ।
उपाध्यक्ष डा। कँडेलले द्रूतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो ।
उहाँले द्रूतमार्ग अनुगमन समितिले द्रूतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उहाँको भनाइ थियो ।
पहिलो चरणमा व्यावहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा। कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रूतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुंगो लाग्ने बताउनुभयो । उहाँले दुई द्रूतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।