Trending :
 

कक्षा १२ को परीक्षा मंसिरको दोस्रो साता हुने, १ देखि डेढ घण्टाको मात्रै

कार्तिक ०४,२०७७

-

कात्तिक ४,२०७७ काठमाडौं ।
 
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो ।
 
बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
 
बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
 
बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो ।
 
‘मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई नीतिगत स्वीकृति प्रदान गरेलगत्तै मन्त्रालयले बोर्डलाई परीक्षा व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको हो।’ -शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले भन्नुभयो ।
 
सोही आधारमा बोर्डको बैठकले परीक्षा गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।
 
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले अंकलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
 
उहाँका अनुसार दशैंलगत्तै सम्पूर्ण प्रक्रिया पूरागरी छठपछि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएलगत्तै बैठक बसेर परीक्षा गर्ने निर्णय गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।