Trending :
 

दशैँको रौनक छोडेर विदेशिन बाध्य नेपाली युवा

कार्तिक ०५,२०७७

-

कार्तिक ५,२०७७ काठमाडौं ।
स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।
लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।
 
यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।
 
१६ वर्षदेखि साउदीमा आउने-जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र १ भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”
 
उहाँजस्तै कुवेत जान श्रम हिँड्नुभएका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको जानकारी दिनुभयो । भिसाको म्याद पनि सकिँदै छ । 
 
कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, उहाँले निराश हुँदै भन्नुभयो, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”
 
रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र १ त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर ।
 
गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झन्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ । आजको गोरखापत्रमा खबर छ ।