भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणको अवस्था निराशाजनक
-
कात्तिक २४,२०७७ काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि आगामी वैशाखसम्मको समयसीमा तोकेको छ ।
विनाशकारी भूकम्प र परकम्पबाट क्षतिग्रस्त निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको अवस्थामा सो निर्णय गरिएको हो । अनुदान लिन समयसीमा नाघिसक्दा विशेषतः दोस्रो र तेस्रो किस्ता नलिनेको संख्या अत्यधिक भएको अवस्थामा प्राधिकरणले सो निर्णय गरेको जनाएको छ ।
प्राधिकरण कार्यकारी समितिको हालै बसेको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।
भूकम्पका कारण क्षति पुगेर बस्न नमिल्ने भएका संरचना पुनर्निर्माण गर्न सरकारले ३ लाख रुपियाँ सहयोग गर्दै आएको छ । सो रकमलाई ५० हजार, डेढ लाख र एक लाख रुपियाँको तीन किस्तामा विभाजन गरिएको छ । भूकम्प प्रतिरोधी घर बनाउनका लागि रकम दिइएकाले सरकारले तोकेको मापदण्ड पूरा गरेर घर बनेको छ कि छैन भन्ने कुरा हेरेर मात्रै थप रकम निकासा गरिन्छ ।
पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।
पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।