जनकपुर–जयनगर नियमित रेल सञ्चालनको तयारी
-
कात्तिक २४,२०७७ काठमाडौं ।
जनकपुर–जयनगर रेलमार्गमा नियमित रेल सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधारलगायतको तयारी भइरहेको हो ।
कोभिड–१९ सङ्क्रमणका कारण तत्काल रेल सञ्चालन गर्न नसकिने भए पनि स्थिति सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । सरकारले सङ्क्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सञ्चान गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवयश्कता परेको उहाँको भनाइ छ । आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्ने गरी छलफल उहाँले जानकारी दिनुभयो ।
रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले करारमा कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएकामा लोक सेवा आयोगले ठूलो सङ्ख्यामा करारमा नियुक्ति गर्दा पछि समस्या आउन सक्ने बताएपछि अब स्थायी नियुक्ति गर्ने योजना बनाइएको महाप्रबन्धक भट्टराईले बताउनुभयो । लोक सेवाको प्रक्रियाबाट पदपूर्ति गर्दा केही महिना लाग्न सक्ने भएकाले तत्कालका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारमा कर्मचारी पठाउने भएको उहाँले जानकारी दिनुभयो ।
रेल सञ्चालनका लागि प्राविधिक, प्रशासन, कानूनलगायत समूहबाट झण्डै डेढ सय कर्मचारी आवश्यक रहेको बताइएको छ । रेल चलाउन दक्ष जनशक्ति भने भारतीय हुनेछन् । कम्पनीले रेल सञ्चालनका लागि २६ जना प्राविधिक कर्मचारी भारतीय ल्याउन रेल निर्माण गरेको त्यहाँको सरकारी कम्पनी कोनकान कम्पनीसँग कुराकानी भइरहेको बुझिएको छ । कम्पनीले रेल पठाउँदादेखि नै आवश्यक जनशक्ति पठाउने तयारी गरेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।