नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने विशाल ग्रुपलाई सरकारको उन्मुक्ति
-
कात्तिक २८, २०७७ काठमाडौं ।
मिति नाघेका वस्तु खुवाएर नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने विशाल ग्रुपलाई सरकारले उन्मुक्ति दिएको छ । गैरकानुनीरुपमा काम गर्न लगाउने विशाल गु्रपले दण्डहीनताको आनन्द उठाएको छ । उपभोक्ता र अधिकारकर्मीहरुले भने विशाल ग्रुपलाई नागरिकस्तरबाटै सजाय दिनुपर्ने धारणा राखेका छन् ।
म्याद सकिएको खाद्य वस्तुमा पुनः नयाँ मिति राखेर बिक्री गरिरहेको अवस्थामा वितरक कम्पनीका केही व्यक्तिलाई रंगेहात पक्राउ गरे पनि मुख्य दोषी विशाल ग्रुपलाई भने छुटकारा दिइएको छ । मिति नाघेका खाद्यान्नमा नयाँ मिति राखेर बजार पठाउँदै गर्दा विशाल ग्रुपका दुई वितरक कम्पनीमाथि कारबाही भए पनि मुख्य दोषी विशाल ग्रुपलाई कारबाहीबाट बचाइएको छ ।
महानगरीय अपराध महाशाखाले प्रमाण संकलन गरेपछि प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त टोलीले छापा मार्दा मिति सकिएको अखाद्य वस्तु भेटिएको थियो । लगत्तै विभागले विशाल गु्रपकै वितरक संस्थाका सञ्चालकहरु पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले संकलन गरेको प्रमाणका आधारमा विभागको नेतृत्वमा गत असोज १५ गते विशाल ग्रुपका वितरक कम्पनीमा छापा मारेको थियो ।
अनुगमनका क्रममा चार तले घरमा रि–लेबल गरिएको खाद्य सामग्री भेटिएपछि विशाल ग्रुपअन्तर्गतका आयान डिस्ट्रिब्युटर्सका सञ्चालकसहित सात जना पक्राउ परेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।