Trending :
 

रानीपोखरीको बालगोपाल मन्दिर यसपटकदेखी भाइटीकामा खुल्ने

कार्तिक २८,२०७७

-

कात्तिक २८, २०७७ काठमाडौं ।
रानीपोखरीको बीचमा रहेको बालगोपाल मन्दिर यसपटकको भाइटीकामा खुल्ने भएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ ।
 
२०७२ को भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि बालगोपालको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । भाइटीकाको दिन भने रानीपोखरीको बाहिरै राखेर पूजा गरिँदै आएको थियो ।
 
मन्दिर खोल्ने विषयमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल गरिररहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन साताअघि उद्घाटन गरेकी थिइन् । भण्डारीले बालगोपाल मन्दिरको पनि प्राणप्रतिष्ठा पूजा गरेयता मन्दिर बन्द छ ।
 
प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । भाइटीकाको दिन पूजा गरिने बालगोपालको मूर्तिलाई बालगोपालेश्वर भनेर भ्रम फैलाएको भन्दै संस्कृतिविद्ले आपत्ति जनाउँदै आएका छन् । संस्कृतिविद् काशीनाथ तमोटका अनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।