बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा सङ्कुचन
-
मंसिर ७,२०७७ काठमाडौ ।
मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफामा सङ्कुचन आएको छ । कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ ।
कोरोना कहरकै कारण चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको नाफा घट्दा वितरणयोग्य नाफा ५४.४१ प्रतिशत अर्थात् साढे चार अर्ब रुपियाँले घटेको छ । यो अवधिमा २७ वाणिज्य बैङ्कले तीन अर्ब ७६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको २०७६/७७ को पहिलो त्रैमासको तुलनामा ५४.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा बैङ्कहरूले आठ अर्ब २६ करोड रुपियाँ वितरणयोग्य नाफा गरेका थिए ।
कोरोना कहरका बीच पनि जनता बैङ्कसँग मर्जर गरेकाले ग्लोबल आईएमई बैङ्कले भने अधिकांश वित्तीय सूचक मजबुत बनाएको छ भने नाफा, चुक्ता पुँजीलगायतमा ग्लोबल आईएमई, प्राइम, एनएमबी, मेगालगायतका बैङ्कको ठूला संस्था मर्ज तथा एक्विजिसन गरेका कारण पनि धेरै वृद्धि देखिएको छ । आजको गोखापत्र दैनिकमा खबर छ ।