उपत्यकामा तत्काल विद्यालय खोल्न सक्ने अवस्था नरहेको निष्कर्ष
-
मंसिर ८,२०७७ काठमाडौं ।
कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।
मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताउनुभएको छ ।
चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।
तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताउनुभयो ।
‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छांै।’ –उहाँको भनाइ थियो । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।
झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ ।
छोराछोरीलाई विद्यालय पठाउने विषयमा अभिभावकको मुख्य भूमिका रहने भएकाले अभिभावकसँग पनि परामर्श लिनुपर्ने फोरमले जनाएको छ । ‘अहिले त टोलैपिच्छे, संक्रमित देखिन थालेका छन्, देशैभरका विभिन्न तहका व्यक्ति बस्ने राजधानीका विद्यालयको अवस्थाबारे अध्ययन नगरी हचुवाको भरमा विद्यालय खोल्ने पक्षमा मेयर फोरम नरहेको शाक्यले बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।