Trending :
 

स्वाब संकलनका लागि काठमाडौं महानगरको मोबाइल भ्यान सञ्चालनमा

मंसिर ०८,२०७७

-

मंसिर ८,२०७७ काठमाडौं ।
काठमाडौं महानगरले स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । भ्यानले हिजो आइतबारबाट स्वाब संकलन शुरु गरेको छ ।
 
कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गर्नुभएको हो ।
 
कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन महानगरपालिकाले मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानको वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रबाट डिजाइन तथा परीक्षण गरी तयारी अवस्थामा रहेको मोबाइल स्वाब कलेक्सन बुथ हस्तान्तरण कार्यक्रमपछि बोल्दै प्रमुख शाक्यले लकडाउनको शुरु अवधिदेखि नै कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको जानकारी दिनुभयो ।
 
‘पछिल्लो समय यसलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम शुरुआत गरेका छौं’, शाक्यले भन्नुभयो-‘यो भ्यानमार्फत अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घरबाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन्, उनीहरुलाई लक्षित गरी यो कार्य अघि बढाएका हौं ।’
 
उहाँले कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।