प्रदेश १ मा ‘हेलो विद्यार्थी’ कार्यक्रम शुरु गरिने

मंसिर ०९,२०७७

-

मंसिर ९,२०७७ काठमाडौं ।
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाइलाई निरन्तता दिने उद्देश्यले ‘हेलो विद्यार्थी कार्यक्रम’ शुरु गर्न लागेको हो ।
 
कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरेको हो । मोबाइलबाट शिक्षकले विद्यार्थीलाई सिकाउने र विद्यार्थीले शिक्षकलाई नबुझेको कुरा सोध्न सक्ने गरी कार्यक्रमको प्रबन्ध गरिएको छ । पहिलो चरणमा तीन महिनाका लागि शुरु गर्न लागिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारी रहनेछ ।
 
मन्त्रालयले चाँडै कार्यक्रम शुुरु गर्नका लागि स्थानीय तहसँग सम्झौता गरेको छ । पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम र तेह्रथुमका १० वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिनेछ ।
 
धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताउनुभयो । मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उहाँले बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।