नेपालमा खाने तेलको मुल्य बढाएर भारत निर्यात !

मंसिर १२,२०७७

-

मंसिर १२, २०७७ काठमाडौं ।
 
मुलुकको निर्यात व्यापार १०.८१ प्रतिशत बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३६ अर्ब २७ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो ।
 
आयात व्यापार १०।६२ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७६/७७ का ४ महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएकामा २०७७/७८ को सोही अवधिमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ ।
 
निर्यातमा भएको वृद्धि र आयातमा आएको कमीले समग्र व्यापार घाटा साढे १२ प्रतिशत घटेको उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भने यस्तो घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँमा झरेको विभागको तथ्यांक छ ।
 
यसैगरी नेपालबाट निर्यात भएका वस्तुमध्ये सबैभन्दा अघि भटमासको तेल छ । कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रतिवेदनअनुसार निर्यात भएका वस्तुमध्ये भटमासको तेल पहिलो नम्बरमा छ । तथ्यांकअनुसार पहिलो चार महिनामा ११ अर्ब ६ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ ।
 
यसलाई रिफाइन गरेर १० अर्ब २६ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ । खाने तेल भारत निर्यात भएपछि अस्वाभाविक रूपमा मूल्य वृद्धि भइरहेको छ । व्यवसायीहरूका अनुसार दसैंयता मात्रै होलसेलमा प्रतिलिटर न्यूनतम १५ रुपैयाँसम्म मूल्य बढेको छ । होलसेलमा मूल्य बढेपछि खुद्रामा पनि त्यसको असर परेको व्यवसायी बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।