नेपाल(भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकारात्मक मोडमा

मंसिर १२,२०७७

-

मंसिर १२, २०७७ काठमाडौं ।
 
नेपाल भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ । बिहीबार बिहान नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहितको टोलीबीच भएको वार्ताले सकारात्मक रुप लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
लामो समयदेखि संवादहीन अवस्थामा रहेका दुई मुलुकका परराष्ट्र सचिवबीचको वार्ताले सकारात्मक मोड लिएको भारतीय विदेश सचिव शृंगलाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
 
वार्तापछि छोटो प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भन्नुभयो(‘दुई देशबीच सबै विषयमा खुलेर कुरा भएको र वार्ता सकारात्मक बन्दै गएको छ ।’ औपचारिक वार्ता हुनुअघि दुई सचिवबीच गोप्य भेटवार्ता भएको थियो । उहाँहरुबीच भएको वार्ताका बारेमा केही बताइएको छैन ।
 
बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतले सबै विषयमा कुरा गर्न चाहेको बताएपछि लामो समयदेखिको संवादहीन अवस्था र नेपाल भारतबीचको सम्बन्ध, भारतले गर्ने भनेको सहयोग र अन्य विषयमा समेत छलफल भएको थियो ।
 
बैठकमा दुई देशबीच समस्याका रुपमा देखिएका सबै विषयमा छलफल भएको र त्यसले सकारात्मक रुप लिएको पनि बैठकमा सहभागी ती अधिकारीले जानकारी दिए । वार्ताका एजेन्डाहरु धेरै भएकाले सबै विषयमा छलफल भएको र उक्त छलफल सकारात्मक रहेको पनि परराष्ट्र मन्त्रालयले गरेको ट्विटमा उल्लेख गरिएको छ ।
 
विश्वभर संकटको रुपमा देखिएको कोरोना भाइरस संक्रमणका विरुद्ध बनेको खोप उपलब्ध गराउन भारत सकारात्मक रहेको पनि भारतीय विदेश सचिव शृंगलाले बताउनुभएको थियो । उहाँले नेपालले उठान गरेको उक्त विषयमा नेपाललाई सहयोग गर्न भारत तयार रहेको जानकारी गराउनुभएको थियो ।
 
परराष्ट्र सचिवस्तरीय बैठकपछि शृंगलाले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गर्नुभएको छ । उहाँले नेपाल भारतबीचको सदियौं पुरानो सम्बन्धमा कहिल्यै पनि चिसोपन आउन नसक्ने बताउँदै समयअनुकूल सम्बन्ध परिमार्जन गर्दै लैजाने बताउनुभयो ।
 
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल भारतबीचको सम्बन्ध कहिलेकाहीं तलमाथि भए पनि त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभएको थियो ।
 
प्रधानमन्त्री–शृंगला भेट
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
 
बिहीबार साँझ उहाँले बालुवाटारमा भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सचिव शृंगलासँग नेपाल–भारतबीचको सीमा विवादको बारेमा समेत छलफल गर्नुभएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
 
११ सदस्यीय टोलीको नेतृत्व गरेर नेपाल भ्रमणमा आउनुभएका उहाँले नेपाल भारतबीचको सम्बन्ध सुधारमा आफू र आफ्नो सरकार सकारात्मक रहेको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।