नेकपाको आन्तरिक विवाद चुलिँदैः आ-आफ्नो गुटको भेला र प्रशिक्षणलाई तीव्रता

मंसिर १३,२०७७

-

मङ्सिर १३,२०७७ काठमाडौं।
 
सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ ।
 
इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ ।  
 
भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए । भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए । पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । ‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’  
 
 
भेलाले मोरङ जिल्लामा ओली पक्षका भन्दा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षका कार्यकर्ता बढी रहेको निष्कर्ष निकालेको छ । ‘भेलामा दाहाल-नेपाल पक्षीय नेता-कार्यकर्ताको बहुमत रहेको निष्कर्ष निकाल्यौं,’ अर्का सहभागी नेताले भने । भेलाले अब १३ गतेपछि प्रदेश १ का मन्त्री, सभासद् र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ ।
 
नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले आफू जिल्ला सहइन्चार्ज महेश रेग्मी र गोपी आछामीले बोलाएकाले भेलामा गएको प्रतिक्रिया दिए । उनले भेलामा छलफल भएका केही विषयबारे खुलाउन चाहेनन् । ‘पार्टीलाई विधि र प्रक्रिया मिलाएर अघि बढाउनुपर्छ तर फुटाउनुहुँदैन भनेर सुझाव दिएँ,’ उनले भने ।
 
भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटीका ५० जनाको सहभागिता थियो । मोरङमा गुट भेला हुँदा ओली पक्षसम्म सूचना पुग्ने भएकाले इटहरीमा राखिएको बताइएको छ । रेग्मीले भने गुटगत भेला नभएर चिया गफ मात्र भएको प्रतिक्रिया दिए । आजको राजधानी दैनिकमा खबर छ।