नेपाल-चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने प्रधानमन्त्री ओलीको भनाई
-
मंसिर १५,२०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेट गर्नु भएपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो ।
रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दिनुभयो । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्धलाई अझ सुमधुर बनाएर अगाडि बढाउन चाहेको सन्देश वेईमार्फत दिनुभएको छ । छलफलको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल र चीनजस्तो दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको सम्बन्ध अरू कुनै कुराले असर गर्न सक्दैन भन्ने विश्वास हाम्रो रहिआएको छ ।”
वेईलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो सम्बन्ध रहिआएको प्रस्ट्याउनुभयो । “हाम्रो यो लामो सम्बन्धमा कुनै पनि किसिमको समस्या छैन्, नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने नीति हाम्रो रहिआएको छ, त्यसलाई म दोहो¥याउन चाहन्छु ।” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. भट्टराईले स्पष्ट पार्नुभयो ।
पछिल्ला वर्षहरूमा चीन र नेपालबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ र त्यसले आपसी सम्बन्धलाई थप बलियो बनाएको भनाइ प्रधानमन्त्री ओलीको छ । डा. भट्टराईका अनुसार छलफलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको चीन भ्रमण, चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमण र स्वयं आफूले सन् २०१६ र २०१८ मा गरेको चीनको भ्रमणलाई प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।
ती भ्रमणका क्रममा जुन तहका सहमति भएका छन् ती सहमतिहरूको कार्यान्वयन गरेर अगाडि जाँदा दुई देशको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो ।
सहमति र समझदारी कनेक्टिभिटी र सडक सञ्जाल वा रेल्वे, विद्युत् विकास, अन्य पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा चीनको सहयोग उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले वेईलाई सुनाउनुभयो । ती सहयोगको निरन्तरताले नै दुई देशबीचको सम्बन्ध राम्रो रहेको देखाउने भनाइ पनि प्रधानमन्त्री ओलीको छ ।
प्रधानमन्त्री ओलीसँगको छलफलका क्रममा चीनका रक्षामन्त्री वेईले नेपाल र चीनबीचमा कुनै पनि समस्या नरहेको प्रस्ट्याउनुभयो ।
“नेपालले लिई आएको एक चीन नीति र नेपालको भूभाग चीनविरुद्ध प्रयोग गर्न नदिने नीतिको हामी सधै उच्च प्रशंसा गर्छ,” वेईका भनाइ उद्धृत गर्दै डा. भट्टराईले बताउनुभयो । साथै चीन शान्तिको पक्षधर रहेकाले कुनै अन्य मुलुकको सम्बन्धमा हस्तक्षेपकारी भूमिका नराख्ने पनि वेईले स्पष्ट पार्नुभयो ।
नेपाल र चीनबीचमा पछिल्ला उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन गरेर अगाडि जानका लागि चीन पूर्ण रूपमा प्रतिबद्ध रहेको वेईले प्रधानमन्त्री ओलीसमक्ष बताउनुभयो । छिटोभन्दा छिटो तिनको कार्यान्वयन गरेर अगाडि जान चीन सरकारले चाहेको विचार पनि रक्षामन्त्री वेईले उल्लेख गर्नुभयो । आजको गोरखापत्रमा खबर छ ।